‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

२०७९ बैशाख ६ मंगलबार २०:५८:०० मा प्रकाशित

काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त गर्यो ।

दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो । त्यसमा उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएको हो ।

उक्त चलचित्रको मूल्याङ्कन समितिका सदस्य सरिता लामिछानेले छायाङ्कन, आवाज, वत्ती, सन्देश, सिर्जना र निर्देशन पक्षलाई ख्याल गरेर पुरस्कारका लागि लघु चलचित्र छनोट गरेको जानकारी दिइन्।

वर्षा शाहको फोटो उत्कृष्ट

नेपाली सेनाले यसपटक सैनिक र गैरसैनिक विधामा फोटो प्रतियोगिता पनि आयोजना गरेको थियो । फोटो प्रतियोगितामा गैरसैनिकतर्फ फोटो पत्रकार वर्षा शाहको फोटो उत्कृष्ट भएको छ । उनको सेनाले बाढीमा परेकी एक बालिका उद्धार गरेर सुरक्षित गन्तव्यस्थलतर्फ लैजाँदै गरेको फोटोले पुरस्कार जितेको हो ।

दोस्रो समीप श्रेष्ठ र तेस्रो स्कन्द गौतम भएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयतर्फ हुँदा ईश्वर खड्काको फोटो वर्षको उत्कृष्ट फोटो छनोट भएको छ । सैनिकतर्फ उत्कृष्ट १० फोटोलाई आजै पुरस्कृत गरिएको थियो । जसमा नम्बर १४ बाहिनी अड्डा, वीरेन्द्र अस्पताल, प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय, बज्रदल गण, सैनिक सामग्री प्राप्ति निर्देशनालय, महाविर गण (रेञ्जर), युद्ध भैरव गण, युद्धकार्य निर्देशनालय, सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय र महाविर गण (रेञ्जर) रहेको छ ।

फोटो तथा विविध प्रदर्शनीतर्फ भैरवबहान गुल्म पहिलो, विशेष फौज बाहिनी दोस्रो, शार्दुलजङ्ग गुल्म तेस्रो भएको छ भने सिपाही जर्नल र शिवपूरी जर्नलमा धर्मबहादुर बानियाँको लेख पहिलो र तेस्रो तथा सत्बिन्दर सिंहको लेख दोस्रो हुँदै पुरस्कार प्राप्त गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा आजै सबै विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । सो क्रममा फोटो प्रदर्शनीका साथै उत्कृष्ट लघु चलचित्र गरिमा, फातिमा, गौरव २, डोल्मा, सेता मलामी र सेनाको चेली पनि प्रदर्शन गरिएको थियो ।

ताजा खबर