११ जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

२०७९ बैशाख ६ मंगलबार २०:४७:०० मा प्रकाशित

काठमाडौँ । सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ ।

मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा र रुपन्देहीमा सबैलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

“अहिलेसम्म कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले खोपको पहिलो मात्रा र ६६.४ प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्”, उनले भने । यस्तै १८ वर्षभन्दा माथिका ९४ प्रतिशतले पहिलो मात्रा र ८३.२ प्रतिशतले खोपको पूर्ण मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामध्ये ९२ प्रतिशतले खोपको पहिलो मात्रा र ७६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा १२ वर्षभन्दा माथिका उमेर समूहका शतप्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । प्रदेश नम्बर १ मा ७९.२, मधेस प्रदेशमा ७३.३, बागमती प्रदेशमा ९२.३, लुम्बिनी प्रदेशमा ८५.४, कर्णालीमा ७०.१ र सुदूरपश्चिम प्रदेशमा ७५.६ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका, सोलुखुम्बको खम्बु पासाङ नगरपालिका, महाकुलुङ गाउँपालिका, सोटाङ गाउँपालिका र लिखुपिके गाउँपालिका सतप्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र खिजिडेम्बा गाउँपालिका, भोजपुरको साल्पा सिलिछो गाउँपालिका र भोजपुर नगरपालिका, झापाको बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका, मोरङको सुन्दरहरैचा र पथरी शनिश्चरे नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिका पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यस्तै मधेस प्रदेशमा सप्तरीको राजविराज नगरपालिका र हनुमाननगर गाउँपालिका, धनुषाको लक्ष्यमिनिया गाउँपालिका र जनकपुर उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको हरिवन, बागमती, गोडैता नगरपालिका र कौडेना गाउँपालिका तथा बाराको महागढीमाई नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको दाहालले जानकारी दिए ।

बागमती प्रदेशमा दोलखाको कालीञ्चोक र बिगु गाउँपालिका, रसुवाको पार्वतीकुण्ड गाउँपालिका, नुवाकोटको लिखु गाउँपालिका, काठमाडौँको गोकर्णेश्वर, कागेश्वरी मनहरा, तारकेश्वर, नागार्जुन, काठामाडौँ महानगर, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा सतप्रतिशतलाई खोप लगाइएको छ ।

भक्तपुरको चाँगुनारायण, भक्तपुर र मध्यपुरठिमी नगरपालिका तथा ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा पनि सतप्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ ।

यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका, रामेछापको मन्थली नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिका, गण्डकी प्रदेशका गोरखाको धार्चे गाउँपालिका, पालुङटार गाउँपालिका, गोरखा नगरपालिका र गण्डकी गाउँपालिका, मनाङको चामे र नसोङ गाउँपालिका, मुस्ताङको डालोमे, गारपारजोङ, लोमाथाङ र तासाङ गाउँपालिका, म्याग्दीको अन्नपूर्ण र बेनी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका र माडी गाउँपालिका, लमजुङको डोद्री गाउँपालिका र बेँसीसहर नगरपालिका तथा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा पनि खोपको पूर्ण मात्रा सतप्रतिशतलाई लगाइएको छ ।

यसैगरी नवलपरासी पूर्वको गैँडाकोट, देवचुली र कावासोती नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, भिरकोट नगरपालिका र बालिङ नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, लुम्बिनी प्रदेशमा गुल्मीको गुल्मी दरबार गाउँपालिका, पाल्पाको रामपुर र तानसेन नगरपालिका, पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा र सिद्धार्थ नगरपालिकाका सबैले खोपको पूर्ण मात्रा लगाएका छन् ।

यस्तै कपिलवस्तुको वाणगङ्गा नगरपालिका, दाङको लमही नगरपालिका, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, बाजुराको बूढीगङ्गा नगरपालिका र बैतडीको पाटन नगरपालिकामा पनि १२ वर्षभन्दा माथिका सबैले खोपको पूर्ण मात्रा लगाइसकेको खोप शाखा प्रमुख दाहालले जानकारी दिए ।

ताजा खबर