नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैनः परिसंघ

२०७९ बैशाख ६ मंगलबार २०:३७:०० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिसंघले मुलुकको वर्तमान अर्थतन्त्र कुनै पनि सूचकहरुमा संकटपूर्ण अवस्थामा नरहेको बताएको हो ।

पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्थामा नभएको बताए ।

उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटमा रहेको भन्दै प्रचार भए पनि तत्काल कोही पनि प्यानिक हुनुपर्ने अवस्था नभएको बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्र संकटको अवस्थामा नभएता पनि चनाखो भएर भने हिंड्नु पर्ने अवस्था रहेको उल्लेख गरे ।

नेपालका उद्योगी व्यवसायीहरुले आर्थिक संकट, कर्जा नपाएको अवस्था, आयातमा समस्या, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत नभएता पनि मुलुकको अर्थिक संकटको अवस्था नभएको अग्रवालले बताए । अध्यक्ष अग्रवालले अर्थतन्त्र खुम्चिने क्रममा रहेपनि अर्थतन्त्रको यथार्थ स्थितिले सजग रहनु पर्ने संकेत गरेको बताए ।

उनले नेपाल र श्रीलंकाको अर्थतन्त्रसँग तुलना गर्न नमिल्ने बताए । अध्यक्ष अग्रवालले श्रीलंकाको भन्दा नेपालको जीडीपीको आकार दोब्बर, जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर रहेकाले असहज र अत्यासलाग्दो वातावरण सिर्जना गर्ने गरी तुलना गर्नु नहुने बताए । अग्रवालले नेपालको अर्थतन्त्र ध्वस्त हुँदैछ भनेर गलत प्रचार भइरहेको समेत बताए ।

पत्रकार सम्मेलनमा परिसंघले विदेशी नागरिकलाई नेपाली पुँजी बजारमा सेयर किन्न दिनुपर्ने बताएको छ । संघले कम्तीमा ३ बर्षको सीमा तोकेर विदेशीलाई डलरमा सेयर किन्न दिनुपर्ने बताएको हो । त्यसरी सेयर किन्नेहरुलाई ऋण पत्र खरिद अनिवार्य गर्नु पर्ने धारणा संघले अघि सारेको छ । रेमिटेन्स पठाउनेहरुलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार दिनुपर्ने माग गरेको छ ।

ताजा खबर