राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७९ बैशाख ६ मंगलबार १७:५२:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले अन्तरिम आदेश जारी गर्दै छानबिन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । इजलासले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्न समिति गठन गरिएको भन्दै सरकारको निर्णय खारेजीको मागसहित गभर्नर अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

कुनै गल्ती वा अनियमतिताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन् ।

ताजा खबर