गठबन्धन कुनै हालतमा तोड्नु हुँदैनः प्रधानमन्त्री

२०७९ बैशाख ६ मंगलबार १४:४९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताएका हुन् ।

उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताए । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन् । हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ । धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले । के बिगारेँ मैले ? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ । त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले ? राम्रै गरेको छु त मैले । यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी । गठबन्धन टुटेपछि फेरी त्यही हालत हुने हो । अस्ति जस्तो हालत भयो नि । ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको ? देशभरी कसरी हाम्रो साथी रोएका थिए ? हटाउनुपर्यो, हटाउनुपर्यो भनेको होइन ? त्यसकारण भोलि पनि त्यही अवस्था नआओस् । हामी सबैले के ध्यान दिनुपर्यो भने अहिलेको नयाँ संविधान बनेको छ यो संविधान अनुसार कुनैपनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन हेर्नुस् । कसै न कसैसँग त मिल्नैपर्यो । ओलीलाई हटाउनुपर्यो सबैले भने । ठिक छ हटायौँ । त्यसकारण अब यो गठबन्धनलाई अगाडी लिएर जानु छ । गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि । तपाईलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि । उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो । ठिक छ, कांग्रेस पार्टी ठुलो पार्टी छ, ठूलै पार्टी होस् । सानो पार्टी हामी पनि हुन पाँउ भनेका छन् उनीहरुले । उनिहरुको अधिकार हो नि । त्यतिपनि नपाएर हुन्छ त्यो । एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ । यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ ।’

उनले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताउनुभयो । उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रित नभई गाउँ केन्द्रित संगठन निर्माणमा जोड दिन आग्रह गरे ।

ताजा खबर