पाकिस्तानमा श्रीलङ्काली नागरिकलाई मारेको घटनामा ६ जनालाई मृत्युदण्डको सजाय

२०७९ बैशाख ६ मंगलबार १३:१०:०० मा प्रकाशित

पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेका थिए।

त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए । उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ । तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँच वर्षको सजाय सुनाइएको छ । उक्त घटनाले पूरै पाकिस्तान स्तब्ध भएको थियो । दियावादानागेले ईशनिन्दा हुने खालको काम गरेको अफवाह फैलिएपछि उक्त हिंसात्मक घटनाको बीजारोपण भएको हो । उनलाई पैगम्बर मोहम्मदको नाममा प्रकाशित पोस्टर च्यातेको आरोप लागेको थियो ।

तर उनको रक्षा गर्ने प्रयास गर्न घटनास्थल पुगेका उनका एक सहकर्मीले दियावादानागेले कारखानाको भवन सफाइ गर्ने क्रममा केवल पोस्टर हटाएको स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए । सयौँ मानिस संलग्न भएको उक्त बीभत्स घटनाप्रति मानिसहरूले शोक व्यक्त गरेका थिए । कुनै धर्म वा ईश्वरको अपमान हुनेगरी बोल्दा ईशनिन्दा भएको मानिन्छ।

पाकिस्तानमा इस्लामको निन्दा गरेको ठहर भए मृत्युदण्डको सजायसम्म हुन सक्छ । इस्लामिक धार्मिक व्यक्तित्वविरुद्ध अपमानजनक टिप्पणी गर्नु पनि अपराध हो ।

नियतवश कुरानको अपमान गर्नेलाई जेल सजाय हुने प्रावधान देशको कानुनमा सन् १९८२ मा थपियो । सन् १९८६ मा पैगम्बर मोहम्मदको निन्दा गर्नेलाई दण्ड दिन अर्को कानुनी व्यवस्था गरियो। त्यस्तो अपराध गर्नेलाई मृत्युदण्ड वा आजीवान कारावास दिन सिफारिस गरियो । पाकिस्तानमा ईशनिन्दासम्बन्धी आधारहीन आरोपकै कारण पनि आरोपित मानिसको चर्को विरोध र हिंसात्मक घटना हुने गरेको पाइन्छ ।

ताजा खबर