क्रिस्टियानो रोनाल्डोलाई पुत्र शोक

२०७९ बैशाख ६ मंगलबार ०८:४५:०० मा प्रकाशित

म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको छ । पोर्चुगलका फुटबल खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको अपेक्षा गरिरहेका थिए ।

उनीहरूकी छोरी भने बाँच्न सफल भइन् र उनको जन्मले आफूहरूलाई यो क्षणमा केही आशा र खुसीका साथ बाँच्न बल दिएको रोनाल्डो र रोड्रीगेजले भनेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले भनेः 'गहिरो दुखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ।’ 'यो क्षतिका कारण हामी सबै अत्यन्त दुखी भएका छौ र यो कठिन घडीमा हामी गोपनीयता चाहन्छौँ।’


उक्त जोडीले गत अक्टोबर महिनामा गर्भधारणबारे जानकारी सार्वजनिक गरेका थिए। रोनाल्डोले हाल प्रतिनिधित्व गर्ने क्लब म्यान्चेस्टर यूनाइटेडले एउटा ट्विट गर्दै भनेको छ, ’’तिम्रो पिडा हाम्रो पनि पिडा हो। यो समयमा तिमी र तिम्रो परिवारलाई माया अनि शक्ति पठाउँदै।’’

रोनाल्डोले यसअघि प्रतिनिधित्व गरेका क्लबदेखि विभिन्न चर्चित व्यक्तित्वहरूले ट्विट मार्फत शोक व्यक्त गरेका छन् । रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको जन्म सन् २०१०मा भएको थियो। त्यसपछि जुम्ल्याहा सन्तान इभा र मटिओको जन्म सन् २०१७मा भयो । उनी र रोड्रीगेजकी अर्की एक छोरी पनि छन् जसको जन्म सन् २०१७मै भएको थियो।
 

ताजा खबर