रुसद्वारा पूर्वी युक्रेनमा ठूलो स्तरको आक्रमण शुरू

२०७९ बैशाख ६ मंगलबार ०८:३५:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन् । टेलिभिजनमार्फत् एउटा सम्बोधन गर्दै उनले डोन्बासका लागि युद्ध शुरू भएको बताएका हुन् ।

डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन् ।रुसले जतिसुकै सेना ल्याए पनि आफूहरु लडिरहने उनले बताए । रुसले आक्रमणहरू तीव्र पारिरहेका विवरणबीच युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ आएको हो ।

डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्क जस्तै भएको बताएका छन् ।

जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको युद्धको शुरूवात गरेको बताएका छन् । यसअघि युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले डोन्बास, लुहान्स्क र खार्किभ क्षेत्रका लगभग सबै अग्रपङ्क्तिलाई तोड्न रुसी फौजले प्रयत्न गरेको बताएका थिए । सोमबार युक्रेनका विभिन्न शहरमा रुसी फौजका बमबारीमा परी नौजना मारिएका थिए।

रुसले सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेको बताएको छ । यसैबीच युक्रेनका अधिकारीहरूले घेराबन्दीमा परेको बन्दरगाह शहर मारिऊपोलस्थित एउटा स्टील प्लान्टमा बाँकी रहेका युक्रेनी फौजमाथि रुसले तथाकथित बङ्कर विध्वंसक बमहरूको प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

ताजा खबर