चुनाव सार्न खोजे प्रतिवाद गर्ने एमालेको निर्णय

२०७९ बैशाख ५ सोमबार २१:२६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आभास हामीलाई भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्छौं ।’ त्यस्तै बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न पालिका र जिल्लाबाट सिफारिस भएका नामहरु समानुपातिकतर्फका बन्द सूचीका उम्मेदवारहरु समेत रहेकाले उनीहरुको नाम सूचीबाट हटाउने निर्णय गरेको छ ।

बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई पारित गरेको छ । बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ । साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

ताजा खबर