कोरोना संक्रमणबाट सांघाईमा तीन जनाको मृत्यु

२०७९ बैशाख ५ सोमबार ११:५१:०० मा प्रकाशित

चीनको आर्थिक केन्द्र मानिने साङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको छ । कोभिड नियन्त्रण गर्ने उद्देश्यले केही सातादेखि उक्त सहरमा लकडाउन घोषणा गरिएको छ ।

सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धलाई कोभिड भएको थियो र उनीहरूमा जटिल समस्याहरू देखा परेका थिए । तीनै जनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन् । उक्त सहरमा यसअघि कोभिडका कारण कसैको मृत्यु नभएको दाबी चीन सरकारको छ ।

तर उक्त दाबी शङ्कास्पद छ । सांघाइमा सोमबार थप २२ हजार २४८ जनामा कोभिड भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् । मार्च यता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको पहिलो पटक स्वीकार गरेको हो ।

सांघाईको स्वास्थ्य आयोगका अनुसार मृत्यु हुने ती बिरामीलाई अस्पतालमा भर्ना गरिएको थियो । सांघाईमा ६० वर्षमाथिका ३८ प्रतिशत मानिसले मात्र कोभिड खोपको पूर्ण मात्रा पाएको सरकारी तथ्याङ्कले देखाउँछ ।

सरकारी निकायहरूले मानिसहरूमा अर्को खेप पनि कोभिड सामूहिक परीक्षण गर्ने घोषणा गरेका छन् । सांघाईमा नौ दिनका लागि भनेर लगाइएको लकडाउन अहिले चौथो सातामा प्रवेश गरेको छ । तीन साताअघि ओमिक्रोन भेरियन्टका कारण कोरोनाभाइरसको प्रकोप फैलिएको पत्ता लागेपछि उक्त सहरमा कडा निषेधाज्ञा जारी गरिएको छ।

ताजा खबर