म्याग्दीमा एमालेका चार पालिकाको उम्मेदवार सर्वसम्मत

२०७९ बैशाख ५ सोमबार ०९:०५:०० मा प्रकाशित

म्याग्दी । नेकपा एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।

अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।

धौलागिरिको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् ।

ताजा खबर