कांग्रेसबाट विराटनगरको मेयरका लागि ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

२०७९ बैशाख ३ शनिबार १९:३४:०० मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसको विराटनगर महानगर समितिले स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समितिसमक्ष शनिबार सिफारिस गरेको हो । पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंका अनुसार मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ।

सभापति चापागाईंसहितको टोली काठमाडौं पुगेर महानगरका तर्फबाट सिफारिसमा परेकाको नामावली बुझाएको हो । मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, विराटनगरका हालका मेयर भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र हालकी उपमेयर इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ ।

त्यस्तै उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

महानगरको मेयरमा उम्मेदवार महिला हुने सम्भावनालाई मध्यनजर गर्दै उपमेयरका लागि पुरुषको नाम पनि सिफारिस गरिएको चापागाईंले बताए। यसअघिदेखि नै नेपाली कांग्रेस विराटनगरमा चुनावी तालमेल नगर्ने पक्षमा छ। यसअघि कांग्रेसबाटै भीम पराजुली विराटनगरको मेयरमा विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै चुनावमा होमिएको थियो। मेयरमा २३ हजार ३१ मत ल्याउँदै कांग्रेसका पराजुली निर्वाचित भएका हुन्।
 

ताजा खबर