हामी हो मधेसको मुक्तिदाताः अध्यक्ष ओली

२०७९ बैशाख ३ शनिबार १९:२८:०० मा प्रकाशित

मलंगवा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले जनतालाई अल्मल्याएर मसिहा बन्न खोजेको आरोप लगाएका छन् । शनिबार सर्लाहीको मलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसी जनतालाई भ्रममा पारेर, विकासका कामहरुलाई अवरोध गरेर मधेसवादी दल मसिहा बन्न खोजेको अरोप लगाएका हुन् ।

उनले जनताको समस्या सामाधान गर्ने र विकास गर्ने पार्टी एमाले भएको बताए । उनले भने, ‘मधेसी जनताले भोगेको समस्यालाई समाधान नगरेर मधेसका मसिहा भन्नेहरु नक्कली मुक्तिदाता हुन्।’

उनले मधेसवादीहरुले एमालेविरुद्धको प्रचार अभियान चलाइहेको बताए। उनले आफ्नो नेतृत्वमा २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेको र त्यसका लागि १० अर्ब रुपैँया बजेट छुट्याएको बताए ।

उनले भने, ’संसद अवरोध गर्दा पनि अध्यादेश ल्याएर भए पनि मधेसी जनताले भोगिराखेका नागरिकताको समस्या सामाधान गर्न खोज्यौं। अहिलेको गठबन्धनका सरकार र गठबन्धनमा रहेका मधेसका मसिहाहरु अध्यादेश कहाँ गयो भनेर बोल्न सकेको छैन। अलिकति लाज भएको भए उनीहरु अहिले सरकार छोडेर बाहिर हुन्थ्यो। जनताको अधिकार खोसिँदा विरोध गर्नु पर्दैन ।’

उनले मधेसको जनताका लागि रेल सुविधा दिँदा पनि एमालेलाई मधेसविरोधी भनेर भ्रम फैलाइएको बताए ।

ताजा खबर