युक्रेनलाई हतियार नदिन अमेरिकालाई रुसको चेतावनी

२०७९ बैशाख ३ शनिबार ११:१६:०० मा प्रकाशित

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । एउटा कूटनीतिक नोटका माध्यमबाट मस्कोले यस्तो चेतावनी दिएको हो । दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले भविष्यवाणी गर्न नसकिने परिणाम निम्त्याउन सक्ने बताइएको छ । युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण आएपछि रुसले उक्त नोट पठाएको थियो ।

त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गरेका थिए जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए ।

पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन् । त्यसलाई युक्रेनको सामर्थ्यलाई त्यहाँ देखिएका रुसी सैन्य क्षमतासँग बराबरी गर्ने कदमका रूपमा लिइएको थियो ।

एक जना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गरिए अनुसार उक्त चेतावनीलाई अमेरिका र नेटोद्वारा युक्रेनमा उपलब्ध गराइएको सैन्य सहयोग प्रभावकारी बनिरहेको मस्कोको चिन्ताका रूपमा हेरिनुपर्छ । अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ ।

रुसले हाल युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ र केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ । युद्ध सुरु भएयता अमेरिकाले तीन अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई उपलब्ध गराएको छ ।

युरोपेली देशहरूले पनि युक्रेनलाई शक्तिशाली किसिमका हतियारहरू उपलब्ध गराउँदै आएका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि परमाणु अस्त्रबाट आक्रमण गर्ने सम्भावनातर्फ विश्व तयार हुनुपर्ने बताएका छन् ।
 

ताजा खबर