क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो

२०७९ बैशाख २ शुक्रबार ०८:१०:०० मा प्रकाशित

विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो । रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक नै थियो ।

५१० जना फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो । किएभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो ।

रुसले भने कुनै हमला भएको बताएको छैन । बरु आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको थियो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको उसले बताएको थियो । बिहीबार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले बताएको छ ।

मस्क्भा ध्वस्त हुनु रुसी नौसेनाको निम्ति गम्भीर धक्का भएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । १२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । मस्क्भा क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो ।

युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए । एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो ।

सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मस्क्भा नाम दिइएको थियो । युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन् । सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो ।

ताजा खबर