उत्तर कोरियालाई सघाएको आरोपमा अमेरिकी अनुसन्धानकर्तालाई जेल सजाय

२०७९ बैशाख १ बिहीबार १०:०१:०० मा प्रकाशित

एउटा क्रिप्टोकरेन्सी समूहमा काम गरेका एक भूतपूर्व अमेरिकी अनुसन्धानकर्तालाई उत्तर कोरियालाई क्रिप्टोकरेन्सी प्रयोग गरेर अमेरिकी प्रतिबन्ध छल्न गरेको आरोपमा पाँच वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ । भर्जिल ग्रिफिथ यसअघि पनि अमेरिकी कानुन उल्लङ्घन गर्न षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

उनले पहिले इथीरीअम फाउन्डेशनका लागि काम गरेका थिए। उक्त संस्था क्रिप्टोकरेन्सी इथरबाहेक प्रविधिको क्षेत्रमा कार्यरत गैरनाफामुखी कम्पनी हो । उनलाई अभियोजनकर्ताहरूले प्रस्ताव गरेको न्यूनतम सजाय मात्रै दिइएको बताइएको छ । न्यूयोर्कस्थित अदालतले उनलाई पाँच वर्ष तीन महिनाको जेल सजायबाहेक एक लाख डलर जरिवाना पनि तिर्न आदेश दिएको छ ।

ती ३९ वर्षीय व्यक्तिलाई अधिकतम १० लाख डलरसम्मको जरिवाना र २० वर्ष जेल सजाय प्रस्ताव गरिएको थियो। सेप्टेम्बरमा ग्रिफिथलाई उत्तर कोरियाको राजधानी प्योङ्याङको यात्रा गरेर ब्लकचेन प्रविधिबारे प्रस्तुति दिएकोमा अमेरिकी इन्टनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्टको उल्लङ्घन गर्ने षड्यन्त्र गरेकोमा दोषी ठहर्याइएको थियो ।

अभियोजनकर्ताहरूका अनुसार क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलजीबाट पीचएडी गरेका ग्रिफिथलाई अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरिया जाने अनुमति दिन अस्वीकार गरेको थियो। तर उनले एप्रिल २०१९ मा चीन हुँदै उत्तर कोरियाको यात्रा गरेका थिए र प्योङ्याङ ब्लकचेन क्रिप्टोकरेन्सी सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

ताजा खबर