सत्तारुढ गठबन्धनद्वारा चुनावी तालमेलका आधार तय

२०७८ चैत २९ मंगलबार २०:४१:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिट बाँडफाँटको टुंगो गठबन्धनको केन्द्रीय संयन्त्रले नै गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले नगरपालिकाको मेयर तथा उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको सिट बाँडफाँट गरेर बैशाख ५ गते भित्र केन्द्रमा पठाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ ।

बैशाख ३ गते जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरिएको काँग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । गठबन्धन बैठकले महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको वडाअध्यक्ष र सदस्यहरुको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने निर्णय पनि गरेको छ ।

सञ्चारमन्त्री कार्कीले सिट बाँडफाँट गर्ने कामको संयोजन भने सम्बन्धित कमिटीको कांग्रेस सभापतिले गर्ने निर्णय पनि गरिएको बताए । सिट बाँडफाँडको आधार भने २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणामलाई मुख्य मान्ने सहमति पनि गरिएको छ ।

उनले भने, ‘गठबन्धन भित्र सिट बाँडफाँटको आधारहरु २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने । २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार । २०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउने । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने । गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा वर्तमान गठबन्धनमा आवद्ध दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने । गठबन्धन भित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।’
 

ताजा खबर