विप्लवलाई देखाएर चुनाव सार्ने षड्यन्त्र हुँदैछः ओली

२०७८ चैत २९ मंगलबार १६:३८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई चुनाव सार्ने पाँच दलीय गठबन्धनको मतियार नबन्न आग्रह गरेका छन् । मंगलबार नेकपा एमाले ललितपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन विप्लवलाई देखाएर चुनाव सार्ने खेलमा लागेको भन्दै त्यसको मतियार नबन्न विप्लवलाई आग्रह गरेका हुन् ।

उनले विप्लवलाई सूर्य चिह्नमा चुनाव लड्न सुझाव दिएका छन् । उनले भने,‘दर्ता खुलेका बेलामा दर्ता नगर्ने, प्रक्रियामा सामेल नहुने । विप्लवजीले चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपले लाग्नुपर्छ। होइन भने, तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् । तर तपाइँलाई जनताले इमान्दार नेताका रुपमा चिन्छन् । त्यसैले चुनाव सार्ने गठबन्धनको मतियार चाहिँ नबन्नुस्।’

उनले २०५९ सालमा स्थानीय निकाय रिक्त बनाउँदा देउवा नै प्रधानमन्त्री रहेको भन्दै अहिले पनि त्यो षड्यन्त्र सुरु भएको बताए ।

उनले भने, ‘लोकतन्त्र समाप्त पार्न २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले पहिला स्थानीय निकाय रिक्त बनाउनुभएको थियो अनि प्रतिगमनमा पुर्याउनुभएको थियो मुलुकलाई । अहिले पनि उहाँ प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई प्रयोग गरेर फेरि त्यही नियती दोहोर्याउने प्रपञ्च हुँदैछ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताए । उनले भने,‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ ।’

उनले माधवकुमार नेपाल गुट र माओवादी काग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको उनले आरोप लगाए । उनले भने, ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्।’

ताजा खबर