देउवाले सकेनन्,पौडेल उठेनन् !

२०७४ पौष १७ सोमबार १३:४०:०० मा प्रकाशित

नेपाली कांग्रेस यतिबेला माझिविनाको डुंगा जस्तै भएको छ। न त्यो किनारामा पुग्छ न त डुबी नै हाल्छ। कांग्रेस नामको डुंगाका माझी शेरबहादुर देउवा यतिबेला सबैभन्दा बढी थिलथिलो भएका नेता भएका छन्। यसकारण कि उनलाई परकाले त राजनीतिक आरोप लगाउँदै गोद्नुसम्म गोदीरहेकै थिए, अब त आफन्त समेत उनीमाथि चुनौतिको मुक्का बजाउन अघि सरेका छन्। जसले गर्दा संक्रमणबाट पार लागीनसकेको राजनीतिको सागरमा देउवाले खियाउँदै गरेको कांग्रेस नामको डुंगाले गति पाउन सकिरहेको छैन। माझीले नै डुंगा डुवाउने हो कि भनेर त्यसमा सवार कांग्रेसजन पिरोलिएका देखिन्छन्।

शेरबहादुर देउवाले नै गन्तव्यविहिन डुंगालाई पार लाउन सक्लान कि नसक्लान? अहिले कांग्रेसजनमा व्यापक मन्थन भैरहेको प्रश्न हो यो। किनभने संघर्षशील छवि लिएर राष्ट्रिय राजनीतिमा उदाएका देउवाले बिगतमा निरंकुशतालाई बल पुग्ने गल्ती गरिसकेका छन् । तैपनि कुनैबेला उनीमाथि ‘अक्षम’ भनेर आक्षेप लगाउँदा तत्कालीन राजा ज्ञानेन्द्रमाथि खनिन पनि तयार भएको युवा पुस्ता नै यतिबेला देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएर विकल्पको खोजी गरिरहेको छ।

प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले भोगेको पराजयको अपयश अरुको भागमा पनि पर्ला नै तर सबैभन्दा बढी त देउवाकै जिम्मामा पर्छ। उनी सभापति र निर्वाचन गराउने सरकारको प्रधानमन्त्री समेत भैरहँदा पार्टीको पक्षमा आएको शर्मनाक परिणामले तत्कालको संसदीय अंकगणितमा एउटा अर्थ राख्ला । तर जहाँनियाँ शासन विरुध्द युग परिवर्तनको नेतृत्व गर्दै सबै परिवर्तनकारी आन्दोलनको अगुवाई गरेको पार्टीमा जुझारु नेता कार्यकता र नयाँ पुस्तालाई कसरी जोडीराख्न सकिन्छ भन्ने चिन्ताले युवा नेतालाई झक्झकाएको सजिलैगरी बुझ्न सकिन्छ। देउवाले यो तत्काल उठेको प्रतिक्रियालाई सकारात्मक रुपमा लिन सकेनन् भने उनको विकल्प खोज्ने आवाज अझ बुलन्द हुँदैजाने निश्चित छ। र सागरको माझमा ढलपल ढलपल भैरहेको डुंगालाई आक्रोशको छालले हुत्याईदिन पनि बेर छैन।

इतिहास त आखिर कठोर नै हुन्छ। बिगतमा देउवाले सरकारमा बस्नका लागि गरेका तमाम हर्कतहरुलाई विस्मृतिमा राख्न चाहनेले पनि यसवीचमा उनकै संरक्षकत्वमा हुर्किँदै गएको परिवारवाद,फरियावाद,व्यापारी,डन,ठेकेदार र कमीशन एजेन्टको घेरावन्दी देखेर खाँट्टी कांग्रेसीहरुलाई उकुसमुकुस भएको देखिन्छ। जुन अस्वभाविक लाग्दैन।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले उतीबेला नै सचेत गराएका थिए – ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा,चिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हालीमुहाली हुनेछ,त्यसका विरुध्द आमकार्यकर्ताले फेरि एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ ।’ तर कांग्रेस नेतृत्वले ठीक यसको विपरित निर्वाचनको मुखमा नवधनाड्य व्यापारीलाई पार्टी प्रवेश गराएर निर्वाचन रथ हाँक्नेसम्मको जिम्मेवारी सुम्पिएको पनि देखियो। सभापतिको गन्तव्यहीन नेतृत्व र नवनेताहरुको भद्दा सक्रियताकै कारण पनि हुनसक्छ जनताले कांग्रेस नेतृत्वलाई फेरि एकपटक ‘अक्षम’ साबित गरिदिएका छन्।

कांग्रेसको यो हालतको सम्पूर्ण दोष देउवामाथि मात्र थोपर्दा अन्याय पनि हुनसक्ला। पार्टीमा बरिष्ठको पगरी गुथेर पनि आफ्नै निर्वाचन क्षेत्रमा हराएका रामचन्द्र पौडेल पनि यसबाट उम्किन सक्दैनन्। उनले पार्टीभित्र नेतृत्वको विकल्प दिन नसकेकैले पनि कांग्रेसले यो अवस्थाको सामना गरिरहेको हो भन्ने आवाज पनि उठिरहेको देखिन्छ। वास्तवमा यसलाई पनि अन्यथा भन्न सकिँदैन। कतिपयको त यस्तो पनि भनाई छ कि पौडेलले संकीर्णताको पर्खाल भत्काउन सकेनन् भने उनी सँधै त्यसैको बन्दी भएर बस्नेछन्।

अब को त ? कांग्रेस संगठनभित्र अहिले एकअर्कालाई सोधिने गरेको प्रश्न हो यो। देउवाले सकेनन्,पौडेल माथि उठ्न सकेनन्। अब को त कांग्रेसको डुंगा चलाउने माझी ? सायद यो प्रश्न महामन्त्री शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह,नेताहरु रामशरण महत,शेखर कोइराला र अहिले भूमिकाविहीन बनाईएका कांग्रेसका पाका नेता कूलबहादुर गुरुङ्गलाई सोधिएको हुनसक्छ। यस्तै अरु सम्भावना भएका नेताहरुमाथि पनि कार्यकर्ता पंक्तिको आशाको नजर परिरहेको होस्।

यी बाहेक युवा पुस्ताका एकसेएक नेताहरु छन्,जसले आसन्न चुनौतिको सामना गर्ने अवसर पाएका छन्।सायद मतदाताको सन्देश बुझेर नै हुनुपर्छ कांग्रेसका सात भाईले औपचारिक रुपमै अग्रसरता पनि देखाएका छन्। अहिले पार्टीलाई पुनर्जिवीत गर्ने हाँक सहित परिआए भूमिका निर्वाह गर्न पछि नहट्ने आँट देखाएर अघि सरेका सात भाई युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डेले संयुक्त वक्तव्य निकाली केन्द्रीय नेतृत्वलाई केन्द्रिय समिति वैठक र महासमिति वैठक बोलाउन दवाव दिएका छन्। 
उनीहरुको यो अग्रसरता वीचैमा सेलाउने छैन भनेर सबैलाई आवश्वस्त पार्न सके भने साँच्चै नै उनीहरुले पाका नेताहरुमाथि उठाएका प्रश्नहरुले जवाफ पाउने छन्। तर ‘अग्रजहरुलाई सम्मान गर्नुपर्छ हामी बहादुरीकासाथ पछि हट्यौं’भनेर खुट्टा कमाए भने अनि त कांग्रेसमा रुपान्तरण एउटा रोचक कहानीमा सीमित हुनेछ। सात भाई युवा नेता पनि हाँसोका पात्र प्रमाणित हुनेछन्। तस्बिर साभार-दि हिमालयन टाइम्स
 

ताजा खबर