श्रीलङ्कामा विदेशी ऋण भुक्तानीमा रोक

२०७८ चैत २९ मंगलबार १३:४३:०० मा प्रकाशित

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी. नन्दलाल वीरासिंघेलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

गभर्नरले मङ्गलबार पत्रकार सम्मेलन गरी ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताए ।

अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ । श्रीलङ्कामा खाद्यान्न र औषधिको अभावसँगै लामो समयदेखि विद्युत् कटौती हुँदा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । श्रीलङ्काले अर्को हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण कार्यक्रममा वार्ता सुरु गर्ने भएको छ ।

यसैबीच जीवन बचाउने औषधि अभावमा श्रीलङ्कामा ठूलो सङ्ख्यामा नागरिकहरूको ज्यान जान सक्ने चिकित्सकले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।

यस्तै लोडशेडिङले श्रीलङ्काको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको डाक्टरहरूले बताएका छन् । श्रीलङ्काको स्थिति यति भयावह छ कि धेरै अस्पतालले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

ताजा खबर