मेलम्चीको पानी सुरुङमा छाडियो

२०७८ चैत २९ मंगलबार १३:११:०० मा प्रकाशित

मेलम्ची । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे ।

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गतवर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो ।

त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

ताजा खबर