निर्वाचनको रकेट छुटिसक्यो, अब कसैले रोक्न सक्दैनः थपलिया

२०७८ चैत २९ मंगलबार ११:५८:०० मा प्रकाशित

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट प्रक्षेपण’ भइसकेकाले अब स्थानीय तह निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भने, ‘गाडी छुटेको होइन, जहाज छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिँदैन।’

उनले निर्वाचन रोकिए दुर्घटना हुने र आयोगले दुर्घटना घटाउन नचाहेको बताए । थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको र निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

उनले अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने बताए । निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहम् भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका खेल्न आग्रह गरे ।

ताजा खबर