गभर्नर अधिकारीको निलम्बन राष्ट्र बैंक ऐन अनुसारः अर्थमन्त्री

२०७८ चैत २८ सोमबार १७:३५:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले गभर्नरमाथिको निलम्बन कानुनसम्मत भएको बताएका हुन् ।

उनले भने,‘ गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको हो, राष्ट्र बैंक ऐन अनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो, जाँचबुझ समिति बनाइएको छ, त्यो समितिलाई काम गर्न दियो भने सबै कुरा बाहिर आउँछ ।’

उनले समितिले काम गरिहेकाले गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने बताए । उनले आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएको बताए । उनले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएपनि कोरोनाको कारण त्यो लक्ष्य हासिल गर्न असम्भव भएको बताए ।

उनले अर्थतन्त्रका सूचक सामान्य रहेको भन्दै अर्थतन्त्रको विषयमा भइरहेको हल्लाप्रति सरकारको गम्भीर ध्यानआकर्षण भएको बताए । अर्थमन्त्री शर्माले विदेशी मुद्रा सञ्चिति ६.७ महिनाको आयात धान्न पुग्ने रहेको बताए । उनले भने, ‘अहिले ११ खर्ब ७१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ, यसले ६.७ महिनाको आयात धान्न पुग्छ, गत असारको तुलनामा फागुनसम्मको तथ्यांकका आधारमा यो १७ प्रतिशतले कमी हो ।’

ताजा खबर