भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदीको नाम सिफारिश

२०७८ चैत २७ आइतबार १७:१३:०० मा प्रकाशित

चितवन । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको महानगर कमिटी बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २(ख)बाट बागमती प्रदेश सभा सदस्यसमेत रहेका सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमाले चितवनका जिल्ला इन्चार्ज एवम् पोलिट्ब्युरो सदस्य देवी ज्ञवालीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भरतपुर महानगरको मेयरमा एमालेबाट सुवेदीलाई उम्मेदवार बनाइएको हो। यता सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस र नेकपा माओवादीबीच भने भरतपुरको मेयर कसले लिने भन्ने विषयमा विवाद छ ।

गत निर्वाचनमा कांग्रेसले माओवादकी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो। दाहालले एमालेका नेता देवी ज्ञवालीलाई पराजित गरेकी हुन्। यसपटक पनि माओवादीले भरतपुरकोफ मेयर आफैँले पाउनुपर्ने अडान लिएको छ। उता कांग्रेसले भने यसपटक जसरी पनि भरतपुरको मेयर आफैँले पाउनुपर्ने अडानमा छ।


 

ताजा खबर