एकीकृत समाजवादीद्वारा माधव नेपालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

२०७८ चैत २७ आइतबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा पारित गरेको छ । पार्टीको शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको २० औं बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदालाई सुझावसहित पारित गरेको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, तीनै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकारी र सदस्यहरु, केन्द्रीय परिषद्का सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, जन संगठनका केन्द्रीय पदाधिकारीहरुसमेत रहेका छन्।

बैठकले महासचिव भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरेको छ। सचिवालयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसदा पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन् ।

त्यस्तै बैठकले स्थानीय तहको उम्मेदवारका लागि मापदण्डसमेत तय गरेको भुसालले जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि पार्टी नीति र कार्यक्रम प्रति प्रतिवद्ध रहेको, पार्टीमा योगदान गरेको विद्रोहमा भूमिका खेलेको, पार्टी प्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेकोलगायतका मापदण्ड तयार पारिएको छ।

त्यस्तै, उम्मेदवार बन्नका लागि जनतामा स्थापित एवं लोकप्रियतालाईसमेत मापदण्डको रुपमा राखिएको छ। उम्मेदवार बन्न स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र समावेशीलाई ध्यान दिने मापदण्ड पनि तयार पारिएको छ।

यसरी उम्मेदवार छनोटको प्रक्रियालाईसमेत बैठकले निर्धारण गरेको छ। जसमध्ये वडा सदस्यको लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले सिफारिस गर्ने छन्। वडाध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने छन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने छन्। त्यस्तै महानगरपालिका र उपमहानगर पालिकाका प्रमुख र उपप्रमुखको लागि सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले उम्मेदवार तय गर्नेछ । बैठकले उम्मेदवारको सिफारिस र निर्णयका लागि समय तालिकासमेत निर्धारण गरेको छ। त्यसका लागि पार्टीले चैत ३० भित्र वडा कमिटीले नाम सिफारिस गरिसक्नु पर्नेछ।

त्यस्तै पालिका कमिटीले बैशाख २ भित्र निर्णय गरी नाम सिफारिस गरिसक्ने, जिल्ला कमिटीले बैशाख ४, प्रदेश कमिटीले बैशाख ६ र केन्द्रीय कमिटीले बैशाख ८ गते भित्र निर्णय गरिसक्ने तालिका बनेको महासचिव भुसालले जानकारी दिए।


 

ताजा खबर