एमलेले भन्यो-गठबन्धनको सरकार बनेपछि देशको अर्थतन्त्र अस्तव्यस्त

२०७८ चैत २७ आइतबार १३:३०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले गठबन्धन सरकार बनेपछि देशको अर्थतन्त्र अस्तव्यस्त भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाकाबारे पार्टीको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले यो सरकारले ९ महिनामै अबलम्बन गरेको आर्थिक नीति, व्यवहारले गर्दा मुलुकको आर्थिक व्यवस्था जोखिम बाटोमा हिँडिरहेको बताए । उनले भने,‘यदि हामीले सार्थक हस्तक्षेप गरेनौँ भने श्रीलंका हुनबाट बच्न सक्दैन। कसैले दाबी गरेर मुलुकको आर्थिक अवस्था बाहिर निस्किन सक्दैन। यहि गतिले जाने हो भने धान्न नसक्ने अवस्थामा पुग्न कसैले रोक्न सक्दैन।’

पौडेलले ओलीले सरकार छोड्दै गरेको अवस्थामा देशको मुद्रास्फिति ४ प्रतिशतभन्दा तल, रेमिट्यान्स १० प्रतिशत १० प्रतिशत बढेको दाबी गरे । उनले अब मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको औँल्याए । उनले हस्तक्षेप नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने बताए ।

पौडेलले अघिल्लो सरकारले बजार महँगी ४ प्रतिशत भन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उनले तर्क गरे । कोभिड–१९ का बाबजुद पनि आफ्नो सरकारले झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न लागि परेको, लगानीको वातावरण बनाएको र बैंकिङ्ग ब्याजदर एकल अंकमा राखेको बताए ।

तर, वर्तमान सरकारले यसलाई समेत ध्वस्त पारेर मुलुकको आर्थिक अवस्था इतिहासमा नै पहिलो पटक कमजोर बनाएको उनले आरोप लगाए । पौडेलले वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको समेत आरोप लगाए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको समेत उनले बताए ।


 

ताजा खबर