बेलायती प्रधानमन्त्री जोनसन कीभमा

२०७८ चैत २७ आइतबार १३:२१:०० मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा वार्ता गरेका छन् । यो भ्रमण युक्रेनी जनतासँगको ‘ऐक्यबद्धताको प्रदर्शन’ भएको बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। रसिया र युक्रेनबिच युद्ध सुरु भएको ४५ औं दिनमा जोनसन कीभ पुगेका हुन् ।

बैठकपछि युक्रेनलाई बेलायतले १२० वटा हतियारसहितका गाडी र ‘एन्टी–शिप मिसाइल’ प्रणाली पठाउने बेलायती प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। जेलेन्स्कीको टोलीका वरिष्ठ अधिकारीहरूले रसियासँगको युद्धमा बेलायतले युक्रेनलाई गरेको समर्थनको प्रशंसा गरे ।

जोनसनको कीभ भ्रमणको पूर्व जानकारी दिइएको थिएन। राष्ट्रपति जेलेन्स्कीसँगको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूतावासले ट्विटरमा राखेपछि जोनसन कीभमा रहेको पहिलो संकेत मिलेको थियो ।

बेलायती प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले भने, ‘युक्रेनी जनतासँगको ऐक्यबद्धता प्रकट गर्न प्रधानमन्त्री जोनसन राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन जानुभएको हो।’ बैठकपछि एक विज्ञप्तिमा प्रधानमन्त्री जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको अजेय वीरता र साहस’को प्रशंसा गरे।

जोनसनले भनेः युक्रेनले विविध अड्चनहरुका बावजुद रसियन सेनाहरूलाई कीभको ढोकाबाट फर्काएको छ। उनले अगाडि भने, ‘मैले आज यो कुरा स्पष्ट गरेको छु कि यो जारी लडाइँमा बेलायत युक्रेनको पक्षमा अडिग रूपमा उभिएको छ, र हामी पछिसम्म पनि साथमा नै हुनेछौँ।’

ताजा खबर