पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

२०७८ चैत २७ आइतबार ०८:४८:०० मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् । विपक्षी दलहरूले उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो ।

संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ । संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका थिए । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो ।


 

ताजा खबर