ओलीको पार्टी ढक हो, हाम्रो त दशौं टनको बन्दैछः खनाल

२०७८ चैत २६ शनिबार १८:३२:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् ।

शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै खनालले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान एमाले अध्यक्ष ओलीलाई आग्रह गरे । ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढकसँग तुलान गरेका थिए । खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।

उनले निर्वाचन घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने बताए । उनले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

ताजा खबर