सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गर्योः अध्यक्ष ओली

२०७८ चैत २६ शनिबार १२:४३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए । उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाउने काम गरेको आरोप लगाए ।

उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै ओलीले आपत्ति जनाए । त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमूना प्रस्तुत गरेको बताए ।

उनले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको बताए । उनले भने, ‘राजनीतिक प्रतिस्पर्धा भइरहेको छ । तर प्रतिस्पर्धा कस्तो भइरहेको छ भने अस्वस्थ । हिजोमात्रै पनि हामीले देख्यौं । हिजो थुतुनाभरी रौं भएको मुसाले धान खायो । एउटै रौं नभएको भ्यागुतोलाई कारबाही गर्यो । तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि । त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो । ध्वस्त पार्यो देशको अर्थतन्त्र । अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ ।’

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्षी दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि जनाए । अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।


 

ताजा खबर