झापड हान्ने विल स्मिथमाथि ओस्करबाट १० वर्षको प्रतिबन्ध

२०७८ चैत २६ शनिबार ११:३८:०० मा प्रकाशित

ओस्कर समारोहमा हास्य कलाकार क्रिश रकलाई थप्पड हानेका अभिनेता विल स्मिथलाई ओस्कर गाला र एकेडेमीका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

एकेडेमीले ९४ औँ ओस्करलाई ’स्मिथले स्टेजमा प्रदर्शन गरेको अस्वीकार्य र घातक व्यवहारले छायामा पारेको’ जनाएको छ । स्मिथले उनको कदमका लागि माफी माग्दै एकेडेमीबाट राजीनामा दिएका थिए । एलोपेसिया रोगका कारण कपाल खस्ने समस्या भएपछि कपाल खौरिएकी आफ्नी श्रीमतीप्रति रकले टिप्पणी गरेपछि अभिनेता स्मिथले उनलाई थप्पड हानेका थिए ।

त्यसको आधा घण्टा भन्दा बढी समयपछि अभिनेता स्मिथलाई ’किङ रिचर्ड’ चलचित्रका लागि उत्कृष्ट अभिनेता पुरस्कार दिइएको थियो । उक्त चलचित्रमा उनले ख्यातिप्राप्त टेनिस खेलाडीहरू सेरेना र भीनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका थिए । शुक्रबार बसेको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सको भर्चुअल बैठकले अनुशासनको कारबाहीबारे निर्णय लिएको हो ।

विज्ञप्तिमा उसले प्रस्तोता तथा आमन्त्रितहरूको रक्षा गर्न र ’एकेडेमीप्रतिको भरोसा जगेर्ना गर्न’ स्मिथमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । एकेडेमीले झापड हानिएको समयमा आफूले ’पर्याप्त ढङ्गले उक्त समारोहमा उत्पन्न अवस्थाको सम्बोधन गर्न नसकेको’ भन्दै त्यस्तो ’अभूतपूर्व परिस्थितिका लागि तयार नरहेको’ उल्लेख गरेको छ। त्यसका लागि उसले माफी मागेको छ । एकेडेमीले ’असाधारण परिस्थितिमा पनि संयम देखाएको’मा रकलाई धन्यवाद दिएको छ ।

ताजा खबर