निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

२०७८ चैत २५ शुक्रबार १८:२३:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको उनले स्पष्ट पारे । थपलियाले भने, ‘निर्वाचन आचारसंहीता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोग समक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा अनि तपाईँहरुसँग चाहिँ कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उल्लंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ । निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ । त्यो कसैलाई छुट हुँदैन । कसैलाई क्षम्य हुँदैन ।’

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।

उनले भने, ‘निर्वाचन आचारसंहिता कार्यान्वयन प्रारम्भ भयो । तर हाम्रा कार्यालय र संरचना बनिसकेका छैनन् । आज नै आयोगले यो कार्यान्वयनको घोषणासँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्म सम्पूर्ण आचारसंहितासँग सम्बन्धित स्थानीय तहमा रहने समितिको काम, कर्तव्य र अधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने गरी र सदस्य सचिवको भूमिकामा जिल्ला निर्वाचन अधिकृतले भूमिका निर्वाह गर्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ । भोलिदेखिनै त्यो तदारुपताका साथ कार्यान्वयन हुन्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । त्यसैगरी निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।

ताजा खबर