निर्वाचनमा तीन सिट जितेर देखाउन माधव नेपाललाई ओलीको चुनौति

२०७८ चैत २५ शुक्रबार १६:३७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको बताए । उनले २३ सिट पाउने हुत्ति नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौति दिए ।

जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिए ।

उनले भने, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन? माधव नेपाल २२÷२३ सिट ल्याउने हुत्ति भएको मानिस हो ? उनको नेतृत्वमा । अव ३ सिट ल्याएर देखाउन त ? त्यो हुत्ति भएका मान्छे हुन् । तर पार्टी भित्रको कुरा दिइयो साथीहरुलाई । यो हिजोको चुनावको परिणाम हो । अब आजको चुनावको परिणाम होइन । म साथीहरुलाई भन्न चाहन्छु–अब बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन् ।’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको बताए । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीप्रति संकेत गर्दै उनले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताए । विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।
 

ताजा खबर