पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमाथि जीपलाइन संचालन

२०७८ चैत २५ शुक्रबार ०९:०१:०० मा प्रकाशित

मुग्लिन । पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।

इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका हुन् । जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पुर्याउने विश्वास गरे । गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए ।

जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमूना भएको बताए । उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ ।

नेपाली नागरिकका लागि रु एक हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उनले बताए । जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताए ।

प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले तीन करोडमा जीपलाइन निर्माण गरिएको बताए । एडभेञ्चर टुरिजम विकासका लागि उनले नेपालमै पहिलोटक ८० प्रतिशत भाग नदीमाथि पर्ने थ्रिलिङ (रोमाञ्चक) किसिमको जीपलाइन भएको बताए । तीन महिनाभन्दा बढी परीक्षण गरिएको हुँदा कुनै समस्या नदेखिएकाले यो जीपलाइन पूर्ण सुरक्षित रहेको निर्देशक सिंखडाको भनाइ छ ।

ताजा खबर