आर्थिक संकट समाधानका लागि श्रीलंकाली राष्ट्रपतिद्वारा आर्थिक विज्ञहरुको समूह नियुक्त

२०७८ चैत २४ बिहीबार १४:०४:०० मा प्रकाशित

श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ ।

संकटको समाधानका लागि उनले विज्ञ समूह नियुक्त गरेका हुन् । पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले बुधबार राति विज्ञ समूह गठन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक छन् ।

उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् । हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् ।

श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ । श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गर्नुभएका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताजा खबर