गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छः प्रचण्ड

२०७८ चैत २३ बुधबार १८:४४:०० मा प्रकाशित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् ।

भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताएका हुन् । दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए । उनले भने, “सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।”

वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूवात आज चितवनको भरतपुरबाट सुरू भएको उनको भनाइ छ । विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताइन् । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताइन् । असली भूमिहीन नछुटुन् भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उनले चितवनबाट यसको सुरुवात गरिएको बताइन् ।

उनले भनिन्, “कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूवात भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुवात भएको बताइन् ।

उनले भनिन्, “भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।”

सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

ताजा खबर