हुम्लाका नागरिकलाई घर पुग्न सकस, टिकट भाडा २१ हजार रुपैयाँ

२०७८ चैत २३ बुधबार १७:०८:०० मा प्रकाशित

दाने बोहरा, सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।

हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या भएको छ । उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको उनीहरुको दाबी छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लङ्घन गरी उडान ठप्प गरेको बताइएको छ ।

निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नपाएको बताइएको छ । हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन् ।

कहिले महँगो भाडा तथा कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नौलो होइन । यहाँको बिरामीलाई समेत उपचार गर्न जिल्लाबाहिर जानसमेत समस्या भएको छ । हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन् ।
नेपालगञ्ज–हुम्लाको २१ हजार भाडा

सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि २१ हजार ५०० यात्रुबाट हवाई भाडा लिएको छ । सहुलियत उडान कम गरिरहेको नेपाल एयरलाइन्सले हुम्लाका लागि चाटर उडान भर्दै एकजना यात्रुबाट १६ हजारदेखि २१ हजार ५०० टिकट भाडा लिने गरेको यात्रुको भनाइ छ ।

नेपाल एअरलाइन्सले नेपालगञ्जदेखि हुम्लाका लागि सहुलियतमा पाँच हजार ६०० लिँदै आएको भए पनि पछिल्ला केही दिनयता अन्य निजी एअरलाइन्सले उडान नगर्दा चार्टर्ड उडान भर्दै चर्को टिकट भाडा लिने गरेको हो ।

नेपालगञ्जदेखि अन्य निजी एयरलाइन्सले चार्टर्ड उडान भर्दा ११ हजार ६०० रुपैयाँसम्म भाडा लिने गरेका थिए । तर नेपाल एयरलाइन्सले एक्कासि भाडादर बढाउँदा हुम्लाका नागरिक मारमा परेका छन् । यसरी चर्को टिकट भाडाले गर्दा गरिब, निमुखालाई थप समस्या बनाएको छ । राज्यले हुम्लालाई वास्ता नगरेको भन्दै यहाँका नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

नेपालगञ्जमा यात्रु अलपत्र
कर्णाली प्रदेश सरकारमा हुम्ला जिल्लाबाट प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्री पद जिल्लाले पाएको छ । तर महिनौँदेखि नेपालगञ्जमा यात्रुले टिकट नपाए अलपत्र पर्दासम्म प्रदेश सरकारको नेतृत्व गरिहरको मुख्यमन्त्री र मन्त्रीले वास्ता नगरेको भन्दै हुम्लाका नागरिकले गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्लाका लागि नियमित उडान गराउन प्रदेश सरकारले कुनै चासो देखाएको छैन ।

निजी एयरलाइन्स पर्यटक ओसार्न लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीयवासीको गुनासो छ । निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एकवटा उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका छन् ।

ताजा खबर