देशका उद्योगधन्दा बेच्ने दलले भ्युटावर निर्माणको विरोध गर्नु स्वभाविकः अध्यक्ष ओली

२०७८ चैत २३ बुधबार १५:४९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका उद्योगधन्दा बेच्ने दलले भ्युटावर निर्माणको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा अध्यक्ष ओलीले भ्युटावरको विरोध गर्ने सत्ता गठबन्धन दलका नेताहरूले धरहरा बनाएकामा भीमसेन थापालाई समेत मूर्ख भन्ने बताए । उनले भने, ‘यिनीहरूले धराहरा बनाउने भीमसेन थापालाई पनि मूर्ख भन्छन् ।’ उनले भ्युटावर नबनाउने भनेर कतिपय दल कसम खाँदै हिँडिरहेको पनि बताए ।

मलेसियामा ट्वीन टावर बनाउँदा मोहम्मद महाथिरलाई पागल भनेको स्मरण गर्दै ओलीले आज तिनै ट्वीनटावर अर्थतन्त्रको केन्द्र बनेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई चिडियाखानाको गधासँग तुलना गर्दै किस्सा सुनाए । अध्यक्ष ओलीले गठबन्धनका दलहरू शिलान्यासको बेला विरोध गर्ने र उद्घाटन गर्ने बेलामा मात्र महत्व बुझ्ने गरेको बताए ।

उनले भने,‘मान्छेहरू चिडियाखानामा गएछन् । चिडियाखानामा जनावरको सरसल्लाह भइरहेको हुँदो हो, सबै जनावर हाँस्दा रहेछन् । त्यहाँ रहेको एउटा गधा चुप लागेर बसेको रहेछ । तिनै मान्छेहरू भोलि या पर्सिपल्ट फेरि चिडियाखाना गएछन्, गधा एक्लै मरिमरि हाँसेको छ । अरू जनावर हिजै कुरो बुझे हिजै हासे, गधाले आज कुरो बुझेछ र हाँसेको रहेछ । अहिलेको पाँच दलीय गठबन्धन पनि यस्तै हो । गठबन्धनका दलहरू शिलान्यास गर्ने बेलामा विरोध गर्छन्, उद्घाटन गर्ने बेलामा कुरा बुझ्छन् ।’

अध्यक्ष ओलीले एमाले अहिले केही समयका लागि प्रतिपक्षमा रहे पनि चुनावपछि फेरि सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले अप्ठेरो र अवरोधकोबीच पनि कसरी काम गर्नुपर्छ भन्ने आफूले बितेका तीन वर्षमा धेरै सिकेको बताए । उनले अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेको भन्दै अब चुनावबाट बाँकी योजना पूरा गरिने बताए ।


 

ताजा खबर