रुसलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट हटाउन जेलेन्स्कीको माग

२०७८ चैत २३ बुधबार ०८:१२:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट अलग गर्न माग गरेका छन् । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सम्बोनध गर्दै उनले यस्तो माग गरेका हुन् ।

यसैबीच रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन् ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन् । वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो बैंकमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

युरोपेली राजदूतहरूले बुधबार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्व र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन् ।

यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सम्बोधन गरेका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराएका थिए । देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उनले उल्लेख गरे ।

ताजा खबर