४० सांसदले साथ छोडेपछि श्रीलङ्काका राष्ट्रपति झन् सङ्कटमा

२०७८ चैत २२ मंगलबार २०:५४:०० मा प्रकाशित

श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएपछि वर्तमान्  सरकार थप सङ्कटमा परेको छ ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा सङ्कट भोगिरहेको श्रीलङ्कामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेका समय ती साना दलहरूको निर्णय आएको हो । सांसदहरूको निर्णयले राजापक्षलाई पार्ने असरका बारेमा स्पष्ट छैन । ती दलले आफूलाई सरकारबाट टाढा राखे पनि प्रतिपक्षी दललाई समर्थन गरेका छैनन् ।

यो निर्णयपछि संसद्मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठाएको छ । राजापक्षको मन्त्रिमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

राष्ट्रपतिले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय सरकारका लागि आह्वान गर्दै मन्त्रिपरिषद्मा आउन अनुरोध गरेका छन् । प्रतिपक्षी दलहरूले सो अनुरोधलाई अस्वीकार गर्दै उनको राजीनामा मागेका छन् ।

“जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने हो,” प्रमुख प्रतिपक्षी दल सामागी जन बालावेगायाका सजिथ प्रेमादासाले भने । मङ्गलबार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेसँगै सरकारले आर्थिक सङ्कटलाई थेग्न नै नसकिने अवस्थामा पुगेको पुष्टि भएको छ ।

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।

ताजा खबर