चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालनमा

२०७८ चैत २२ मंगलबार १५:४९:०० मा प्रकाशित

काठमाडौं । शिलान्यास भएको तीन वर्षपछि काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

उद्योग तथा वाणिज्य मन्त्रालय मातहतमा निर्माण भएको यस बन्दरगाहलाई आजैदेखि सञ्चालनमा ल्याइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिएका छन् ।

उनका अनुसार, वीरगञ्जबाट डिजिटल लक लगाएर आएका ३ वटा मालबाहक कन्टेनर प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो बन्दरगाहमा प्रवेश गराएका थिए । २०७५ माघ ३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह झण्डै साढे तीन वर्षपछि आजबाट सञ्चालनमा आएको हो ।

२ सय २० रोपनी क्षेत्रफलमा फैलिएको सुख्खा बन्दरगाहमा ३ वटा मुख्य गेट राखिएको छ । मास्टरप्लान अन्तर्गत यी गेटहरू बनाइएका छन् । बन्दरगाहमा ३ ठूला गोदाम निर्माण भएको छ । ३ वटा स्टफिङ/डिस्टफिङ भन्ने संरचना बनाइएको छ । जसमा सवारी साधनले ल्याउने सामानहरूलाई भन्सार प्रयोजनका लागि चेकजाँच गर्ने तथा लोड/अनलोड गर्ने सुविधा छ ।

विश्व बैंकको १ अर्ब ८० करोड ऋण सहायतामा बन्दरगाह निर्माण भएको हो । जसमध्ये १ करोड ६० करोड बन्दरगाह निर्माणमा र बाँकी २० करोड कार्यालय निर्माणमा खर्च भएको बताइएको छ ।

ताजा खबर