पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद विघटन गर्ने निर्णय बदर

२०७८ चैत २२ मंगलबार १३:०५:०० मा प्रकाशित

पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेको छ । जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाई शुरु गरेको थियो ।

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने बताएका छन् । “अविश्वासको प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन । सभामुखले अविश्वासको प्रस्तावलाई बेइमानी गरेर खारेज गरिदिएको देखिन्छ।“ प्रधानन्यायाधीशले भने ।

पाकिस्तानका प्रधानन्यायाधीशले देशमा विद्यमान सङ्कटसँग सम्बन्धित सुमोटो मुद्दाको सुनुवाइ गर्दै यस्तो टिप्पणी गरेका हुन् । अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गर्ने बताएका थिए ।

यसैबीच पाकिस्तानका सूचना मन्त्री फवाद हुसैनले ९० दिनभित्र तत्काल संसदीय निर्वाचन हुने बताएका छन् । पाकिस्तानी सञ्चार माध्यमले देशको राष्ट्रियसभा विघटनको आलोचना गरेका छन् ।

ताजा खबर