बुचामा रुसी सेनाले तीनसय भन्दा बढी सर्वसाधारणको हत्या गरेको जेलेन्स्कीको दाबी

२०७८ चैत २२ मंगलबार ०८:१३:०० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले बुचामा तीन सय भन्दा बढी सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सेना माथि बुचा सहर नियन्त्रणमा लिएका बेला तीनसय भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका हुन् ।

सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए । उनले हाल आफूहरूसँग बुचामा मात्रै तीनसय भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको भन्दै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए ।

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन् । बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन् ।

जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताए । रुसी सेना उक्त सहरबाट फर्किएसँगै त्यहाँ दर्जनौँ सर्वसाधारणको शव र धेरै मानिसको चिहान फेला परेको बताइएको छ।


 

ताजा खबर