वन्यजन्तुबाट भएको क्षति बापत एक करोड ७८ लाख राहत वितरण

२०७८ चैत २१ सोमबार २०:५५:०० मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक करोड ७८ लाख २३ हजार ८५० रुपैयाँ राहत वितरण गरेको छ । वन्यजन्तुबाट भएको क्षतिस्वरूप निकुञ्जले राहत वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ५६९ घटना भएका थिए । ती घटनामा परेकाहरुलाई राहत वितरण गरिएको हो । तिवारीका अनुसार वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका ११ जनाको परिवारलाई एक करोड १० लाख वितरण गरिएको छ ।

प्रतिपरिवार १० लाखका दरले राहत वितरण गरिएको हो । वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएका १९ जनालाई तीन लाख ६३ हजार ७९४ र सख्त घाइते २० जनालाई २४ लाख ८१ हजार ५५६ रुपैयाँ राहत वितरण गरिएको छ ।

यस्तै पशुधन क्षतिका ११२ घटनामा १३ लाख ७० हजार ३२०, भण्डारण गरेको अन्नको क्षतिका सात घटनामा ६० हजार ८८० र घरगोठको क्षतिका २६ घटनामा एक लाख ९२ हजार ३०० रुपैयाँ राहत वितरण गरिएको छ ।

यस्तै वन्यजन्तुले खेतबारीमै रहेको अन्नबाली क्षति पुर्याएका ३७४ घटनामा २३ लाख ५५ हजार राहत वितरण गरिएको तिवारीले जानकारी दिए । निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ ।

त्यस्तै सामान्य घाइतेको अवस्थामा २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ ।

जङ्गली जनावरले अन्नबालीमा क्षति पुर्याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ । सूचना अधिकारी तिवारीले पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको जानकारी दिए ।

ताजा खबर