अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

२०७८ चैत २१ सोमबार १९:४१:०० मा प्रकाशित

कर्णाली । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो ।

शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विकका बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो । आफैँले दाहसंस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो ।

पवित्रा र उनका श्रीमान गोपालले प्रहरी समक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए । प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षितरूपमा दाहसंस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ ।
 

ताजा खबर