श्रीलंकामा मन्त्रिपरिषदका २६ सदस्यले दिए सामूहिक राजीनामा

२०७८ चैत २१ सोमबार ०८:२२:०० मा प्रकाशित

बीबीसी ।  चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । र यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन् ।

श्रीलङ्काका शिक्षामन्त्रीले आइतबार मन्त्रिपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो । त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो।

उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो । तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ । प्रदर्शनकारीले प्रहरीतिर ढुङ्गा हानेर प्रतिकार गरेका थिए ।

भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् । श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ ।

त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो । अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ । सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए । उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए।

ताजा खबर