बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दावी

२०७८ चैत २० आइतबार २२:२१:०० मा प्रकाशित

हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् । बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, 'यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ ।'

शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ । जमिनमुनि गाडिएका शबमध्ये करीब १० वटालाई माटोले आधा पुरिएको अवस्थामा देखिएको थियो । सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए ।

यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ । यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन् । एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् ।

जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ । यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ ।

ताजा खबर