‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ लुम्बिनीमा हुने

२०७८ चैत २० आइतबार १९:३१:०० मा प्रकाशित

काठमाडौं । यही चैत २३ गते बुधबार लुम्बिनीमा पर्यटन प्रवद्र्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गरी चैत २३ गते बुधबार बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने जानकारी गराएको हो । बुद्ध जन्मभूमि लुम्बिनीमा हुने एकदिने कार्यक्रममा वाकथलन, शान्तिका लागि दीप प्रज्वलन र प्रवचनको कार्यकम हुने ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले यो बर्ष ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मा कार्यक्रमको सुरुवात गर्ने र आगामी वर्षबाट पिस म्याराथन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।

उनले अघिल्लो वर्ष कोभिडका कारण यो कार्यक्रम गर्न नसकिएको र यस पटक सुरुवात गर्न लागेको बताए । कार्यक्रम लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहयोगमा हुनेछ ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले गर्ने तय भएको छ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिन ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ पारित गरेको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रस्तावमा संयुक्त राष्ट्र संघले यो प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार यो दिन विश्वमा विविध कार्यक्रम हुँदै आएको छ र नेपाल ओलम्पिक कमिटीले पनि सन् २०१४ देखि यो दिनको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको छ ।

ताजा खबर