पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन

२०७८ चैत २० आइतबार १५:३०:०० मा प्रकाशित

पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान  नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् । विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका थिए ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् । उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन् ।

ताजा खबर