प्रधानमन्त्री देउवा बनारसमा, आदित्यनाथले गरे स्वागत

२०७८ चैत २० आइतबार १०:२५:०० मा प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस गएका छन् । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए ।

हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र मानिने बनारसमा प्रधानमन्त्री देउवाले पूजापाठ गर्ने कार्यक्रम छ। उत्तर प्रदेशमा पर्ने बनारसलाई नेपाली हिन्दूले पनि पवित्र स्थलका रुपमा लिन्छन्। देउवाले त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नेछन् ।

साथै प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे वनारसबाट दिल्ली फर्किनेछन् । आजै ४ः१५ बजे दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।

ताजा खबर